Mp3

Listen Online

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छैन : गृहमन्त्री
शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छैन : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले प्रदेश सीमांंकनको विषयलाई लिएर देशका विभिन्न ठाउँमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग नगरेको दाबी गरेका छन् । व्यवस्थापिका संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा गृहमन्त्री गौतमले शान्तिसुरक्षा भंग गर्ने, दबाव सिर्जना गर्ने र अराजकता मच्चाउनेलाई मात्रप्रहरीले बल प्रयोग गरेको बताए । सीमांकनको विषयलाई लिएर ५१ जिल्लामा आन्दोलन र विरोधका कार्यक्रम भइरहेको भन्दै उनले सरकारी कार्यालय र सार्वजनिक सम्पत्ति तोडफोडमा नलाग्न आन्दोलनरत पक्षलाई आग्रह गरे । गृहमन्त्री गौतमले राजमार्ग नै कब्जा गरी अवरोध गर्ने र नियमविपरित आन्दोलन गर्नेलाई प्रहरीले कारबाही गर्ने बताए ।


सुर्खेतमा स्थिति नियन्त्रणमा आइरहेको भन्दै गृहमन्त्री गौतमले जुम्लामा भने अझै अवस्था तनावग्रस्त रहेको जानकारी गराए । शान्तिपूर्ण विरोधको प्रदर्शन गर्दा कुनै अप्रिय घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षाको समुचित प्रबन्ध गरेको उनको भनाइ थियो ।

समितिका सदस्यहरुले भने शान्तिपूर्ण विरोध प्रदर्शनमा पनि सरकारले दमन गरी निन्दनीय काम गरेको गुनासो गरे । उनीहरुले सीमांकनको नाममा भइरहेको प्रदर्शनले मुलुकको शान्ति सुरक्षा बिग्रँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गरे ।