Mp3

Listen Online

सुरक्षाकर्मीले आत्मरक्षाका लागि गोली चलाएको गृहमन्त्रीको जबाफ ।
भाद्र २ । रेडियो रामेछाप ।
 
गृहमन्त्री वामदेव गौतमले सप्तरीको भारदहस्थित प्रहरी कार्यालयमा आन्दोलनकारीले आक्रमण गरेपछि सुरक्षाकर्मीले आत्मरक्षाका लागि गोली चलाउँदा एकजनाको मृत्यु भएको बताउनु भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमा नवलपरासी र भारदहलगायत मुलुकका विभिन्न स्थानमा भएका आन्दोलन र त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनबाट भएको प्रयासबारे जानकारी गराउदै गृहमन्त्रीले सुरक्षाकर्मीले सकभर संयमता अपनाएको बताउनु भयो ।  भारदहमा भेला भएका करिब सात सयजना आन्दोलनकारीलाई प्रहरीले बारम्बार शान्ति सुरक्षामा खलल हुन नदिन आग्रह गरेका तर उनीहरूले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि बाध्य भई स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताउनुभयो ।  आन्दोलनकारीको आक्रमणबाट पाँचजना सुरक्षाकर्मी पनि घाइते भएको जानकारी गृहमन्त्रीले दिनुभयो ।
 
यसैबीच सभासदहरुले गृहमन्त्रीको भनाईप्रती असन्तुष्टी जनाएका छन । सभासद मोहन बानियाँले कर्णाली अञ्चलमा प्रहरीको गोली लागी दर्जनौ आन्दोलनकारी घाइते भएको, उपचारको व्यवस्था नभएको गुनासो गर्नु भएको छ । सभासद मानबहादुर थारुले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायले गरिरहेको आन्दोलनलाई सरकारले दमन गरेको, शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकार हनन गरेको भन्दै आपत्ति प्रकट गर्नुभयो । सभासद एकवाल अहमद साहले नवलपरासीमा शान्तिपूर्ण प्रदर्शन माथि सरकारले अनावश्यक दमन गरेको भए पनि गृहमन्त्रीले सदनलाई गराउनुभएको जानकारी यथार्थभन्दा बाहिर रहेको जानकारी दिनु भयो ।