Mp3

Listen Online

विभिन्न माग राख्दै रामेछापका शिक्षकहरु आन्दोलित ।
भदौ ५ । रेडियो रामेछाप
संवैधानिक शिक्षक सेवा आयोग गठन गर्नुपर्ने र सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै रामेछापका शिक्षकहरु आन्दोलित भएका छन् । आन्दोलनका क्रममा शुक्रबार विद्यालयका शिक्षकहरुले हातमा कालोपट्टी बाँधेर पठनपाठन गर्र्दै सांकेतिक विरोध जनाएका छन् । शिक्षकहरुको छाता संगठन शिक्षक महासंघको नेतृत्वमा विरोध कार्यक्रम आयोजना गरिएको नेपाल शिक्षक संघठन रामेछापका कोषाध्यक्ष गणेश दाहालले बताउनुभयो । सरकारले २०६२ सालदेखि शिक्षकका हक स्थापित गराउन सम्झौता गरेपनि कार्यान्वयनतर्फ ध्यान नदिएको र समग्र शिक्षकको पक्षमा आवाज उठाउने संवैधानिक शिक्षक सेवा आयोग गठनमा बेवास्ता गरेको भन्दै शिक्षकहरु आन्दोलित भएको दाहालले बताउनुभयो । दाहालका अनुसार शनिबारदेखि स्रोतकेन्द्र स्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरी विरोध जनाइनेछ । शिक्षकहरुको आवाजको बेवास्ता गरे आन्दोलनका थप कार्यक्रम अघि बढाइने कोषाध्यक्ष दाहालले जानकारी दिनुभयो ।
  • शिक्षकलाई दरबन्दीमा कायम राख्न माग 
 
नेपाल सामुदायिक उच्च माध्यामिक शिक्षक युनियन रामेछापले ६ बुदेँ माग राख्दै जिल्ला शिक्षा कार्यालय रामेछापमा शुक्रबार ज्ञापन पत्र बुझाएको छ । जिल्ला शिक्षा कार्यालय रामेछापबाट वितरण हुने उमावि दरबन्दिमा अनुदान कोटा फिर्ता गरि नयाँ दरबन्दीमा पुन : प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान राखेपछि प्रकृया पुर्याई लामो समय अगाडि नियुक्ति पाएर अनुदान कोटामा काम गर्दै आएका शिक्षकहरुलाई यथावत् दरबन्दी कायम राख्दै जिल्लामा थप दरवन्दी वितरण गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
नेपाल सामुदायिक उच्च माध्यामिक शिक्षक युनियन रामेछापका अध्यक्ष नारद कुमार थापा र सचिव सञ्जिव कुमार श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा सामान्य प्रक्रिया पुरा गरी कार्यरत अनुदान कोटाका शिक्षकलाई दरबन्दीमा पदास्थापना गर्नुपर्ने, कार्यरत शिक्षक तथा कर्मचारीको सेवा सूविधा ग्यारेन्टी गर्नुपर्ने, जिल्ला शिक्षा समितिमा आमन्त्रित सदस्यको रुपमा सहभागी गराउनुपर्ने माग उल्लेख छ । आफ्ना माग कार्यन्वयनमा वेवास्था गरे सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन जिल्ला कार्यसमिति रामेछापले थप विरोध कार्यक्रमहरु अगाडि बढाउने जनाईएको छ ।