Mp3

Listen Online

पहिरोले विद्युत पोल र तार बगाएपछि सैपुमा विद्युत अवरुद्ध
भदौ ५, रेडियो रामेछाप ।
भुकम्पले धाँजा परेको क्षेत्रमा अविरल बर्षा सँगै आएको बाढि पहिरोले देशभरीको जनजिवन प्रभावित हुदैँ गएको छ । यस्तै रामेछापको सैपु गाविसमा अविरल बर्षापछि गएको पहिरोले विद्युत पोल र तार बगाएपछि विद्युतसेवा अवरुद्ध भएको छ । बुधबार परेको बर्षाले चण्डेश्वरी उमावि प्रगतिचौर डाडाँदेखि पहिरो जादाँ चोक्टे खोला तेस्रो लघु जलविद्युत आयोजनावाट वडा नं ६ मा लगेको विद्युत पोल र तार बगाएको हो । 
विद्युत लाइनमा गाडिएका ९ वटा फलामे पोल र करिब १ हजार मिटर तारमा क्षति पुगेको आयोजनाका सल्लाहकार प्रकाशचन्द्र सुनुवारले जानकारी दिए । सैपु गाविसको वडा नं २ र ६ का एक सय घरधुरीले विद्युत उपभोग गर्दै आएको सो आयोजनामा पहिरोले साढे ५ लाख भन्दा बढि क्षति पुर्या‍एको सुनुवारले बताए । विद्युत प्रवाह नहुँदा उपभोक्ता समस्यामा परेका छन् ।
अविरल बर्षापछि गएको ठूलो पहिरोले जंगल र खर पाखो बगाउदै लिखु नदीसम्म पुर्या‍एको  स्थानीय सन्तोष पौडेलले बताएका छन् । अहिले पनि पहिरो चलिरहेकाले लामो समयसम्म निरन्तर पहिरो जाँदा खेति योग्य जमिन समेत बगर बनाउदै लगेपछि स्थानीय चिन्तीत देखिएका छन् । १ किलो मिटर भन्दा ठूलो क्षेत्र उजाडिदै गएकाले पहिरोले लिखु नदी समेत थुनिने होकि भन्ने त्रास बढेको पौडेलको भनाइ छ । 
त्यसैगरी शुक्रबार राती सैपु वडा न. ४ अमलबोटमा पनि सुख्खा पहिरो गएको छ । पहिरो जाला जस्तो नलागेको स्थानमा पहिरो जान थालेपछि स्थानीयमा त्रास बढेको छ । बर्षादमा लिखु नदीले केहि बर्ष अगाडि देखि तितेखानी क्षेत्रको खर पाखो तान्दै आएको र माथीबाट समेत सुख्खा पहिरो चल्न थालेपछि अमलबोटेका करिब १५ घर जोखिममा परेको स्थानीयले बताएका छन् । त्यस्तै भुजी गाविसको वडा नं ९ फोर्दिङमा विहिबारबाट निरन्तर पहिरो जान थालेपछि ७ घर पहिरोको जोखीममा परेको स्थानीय कुमार घतानीले जानकारी दिए ।