Mp3

Listen Online

विरोध जनाउँदै स्रोतकेन्द्रमा अन्तरक्रिया ।
भदौ ६ , रेडियो रामेछाप । 
संवैधानिक शिक्षक सेवा आयोग गठन गर्नुपर्ने, २०६६ र ६८ सालमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै रामेछापका शिक्षकहरुले मौलिक आन्दोलन अघि बढाएका छन् ।  जिल्लाका सम्पूर्ण स्रोत केन्द्रमा शैक्षिक सरोकारवाला विच शनिबार अन्तरक्रियाको आयोजना गरिएको छ । यसैक्रममा तामाकोशी जनजागृती उच्च्मावि स्रोतकेन्द्र खिम्ती अन्तर्गतका २५ विद्यालयका शिक्षकहरुको उपस्थितीमा शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति लगायत सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ । नेपाल शिक्षक संगठनका केन्द्रीय पार्षद पवनराज पौडेलको अध्यक्षतामा कार्यक्रम भएको शिक्षक संगठन रामेछापका कोषाध्यक्ष गणेशप्रसाद दाहालले बताउनुभयो । शिक्षकहरुको हकहितका लागि भएको आन्दोलन र मागप्रति रामेछापेली शिक्षक, अभिभावकहरुले ऐक्यवद्धता जनाएको दाहालले बताउनुभयो ।
सो अवसरमा राहत शिक्षक संघर्ष समितिका सहसंयोजक कुमार दाहाल, मावि ज्यामिरेखानीका प्रअ गोपाल शिवाकोटी, जीवन दाहाल, वीरवल थापा, खडानन्द कडेरिया, विष्णुबहादुर थापा लगायतले सरकारले शिक्षकहरुप्रति सकारात्मक आँखाले हेर्नुपर्ने धारणा राख्नुभएको थियो । 
सरकारले आफूहरुको मागप्रति सुनुवाइ नगरे भदौ १२ गते क्षेत्रीयस्तरको अन्तरक्रिया, भदौ १९ गते जिल्लास्तरीय अन्तरक्रिया र भदौ २० गते जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको कोषाध्यक्ष दाहालले जानकारी दिनुभयो । 
 
शिक्षकहरुले आफ्ना हकहितमा केन्द्रित भई २०६६ र २०६८ सालमा गरी ४७ बुँदे माग राख्दै सभामुख सहित सबै शीर्ष नेतालाई ज्ञापनपत्र बुझाइसके पनि हालसम्म सुनुवाइ नभएकाले आन्दोलन अघि बढाउनुपरेको दाहालले बताउनुभयो ।