Mp3

Listen Online

१५ दिन भित्र नियमित विद्युतको सूचारु नगरे शसक्त आन्दोलन गर्ने चेतावनी
१५ दिन भित्र नियमित विद्युतको सूचारु नगरे शसक्त आन्दोलन गर्ने चेतावनी
१५ दिन भित्र नियमित विद्युतको सूचारु नगरे शसक्त आन्दोलन गर्ने चेतावनी सहित विद्युत प्राधिकरण घेराउ ।
भाद्र १०/  रेडियो रामेछाप । 
विद्युत् आपुर्ति नियमित नभएको भन्दै जिल्लाबासिले बुधबार नेपाल विद्युत प्राधिकरण मन्थलीको कार्यालय घेराउ गरेका छन् । लोडसेडिङमुक्त जिल्ला रामेछाप घोषणा गरिएपनि दैनिक कयौ पटक विद्युत् आपुर्ति अवरुद्ध भएकोले उद्योग, व्यवसाय र सर्वसाधारणको दैनिकि कष्टकर भएकोले तत्काल विद्युत् आपुर्ति सुचारु गर्न माग गर्दै कार्यलय घेराउ गरिएको हो । यसरी विद्युत् आउने जाने गर्दा विद्युतिय सामग्रीहरुमा क्षति पुगेको र अति आवश्यक विद्युतिय साधन नचल्दा अस्पताल, सञ्चारमाध्यम, उद्योग, कलकारखाना बन्द गर्नुपर्ने अवस्था आएको उपभोक्ताको भनाई छ ।
विद्युत जाने आउने निश्चित नहुँदा सरकारी तथा गैह्र सरकारी संस्थाबाट सेवा लिन समेत मुस्किल भएको उनीहरुको भनाई छ । प्राधिकरणले न्यूनतम शुल्क समेत चर्को लिने गरेको र समयमा विल नबुझाए उपभोक्ताले जरिवाना तिर्नुपर्ने तर विद्युतको कारणले उपभोेक्ताको विद्युतीय सामान विग्रँदा त्यसबाट हने क्षति विद्युत कार्यलयले दिने कि नदिने भन्दै उनीहरु आक्रोसित भएका छन् । विद्युत प्राधिकरणले कमसल सामान खरिद गरेको, कर्मचारीलाई व्यवस्थित परिचालन नगरेको, ठाउँ ठाउँमा नाङ्गो तार टागिँएको जस्ता अनेकौँ समस्या देखिएकाले तत्काल समाधान गर्न माग गरेका छन् । विद्युतमा देखिएको समस्यालाई १५ दिन भित्र समाधान गरेर विद्युत नियमित सूचारु नगरे १६ औ दिनको दिन कार्यलयमा ताला लगाएर ससक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 
यता विद्युत् प्राधिकरण रामेछापका प्रमुख रविनबाबु घिमिरेले दोलखा जिल्ला हुदै विद्युत् आपुर्ति भएको र लामो दुरीका कारण ठाउँ ठाउँमा हुने अवरोधले गर्दा समस्या आएको बताएका छन् । उनले प्राविधिक रुपमा विद्युत् अवरोध हुने ठाउँको अध्ययन गरी काम गर्न योजना बनाइरहेका बताए । काठका पोल रहेको स्थानमा नयाँ पोल राख्ने काम भइरहेको र नाङ्गो तारलाई व्यवस्थित गरिदै बताए । उनले सिन्धुली जिल्ला लोडसेटिङ मुक्त जिल्ला भइसकेको हुदाँ केहि प्रशारण लाइन मर्मत गरेपछि त्यस तर्फबाट विद्युत सूचारु गराउन प्रक्रिया थालिसकिएकोले छिट्टै समस्या समाधान हुने धारणा राखे । प्राधिकरणका प्रमुख घिमिरेले जिल्लामा देखिएका समस्यालाई अध्ययन गरि समस्या समाधानका लागी केन्द्रसम्म पहल गर्ने प्रतिबद्धता जनाए ।