Mp3

Listen Online

रामेछाप प्रहरीको सक्रियता : फरार अभियुक्त २९ वर्षपछि पक्राउ
माघ ७, रामेछाप । जिल्ला अदालत रामेछापबाट ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । रामेछाप जिल्लाको साविक भुजी गाविस–८ हाल उमाकुण्ड गाउँपालिका– ९ वस्ने वर्ष ५६ बर्षिय हरि बहादुर सुनुवार भन्ने ज्ञान कुमार सुनुवार शनिबार पक्राउ परेका हुन् ।
सुनुवार २०४५ साल कात्तिक ३ गते भुजीका कमलबहादुर सुनुवारको हत्या गरी फरार भएका थिए । घटना घटाए पश्चात फरार भई भारतको सिलाङ्गमा बस्दै आएको र उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापको विशेष अनुसन्धान टोलीले खोजी गरिरहेको थियो ।
 
केही दिन अघि आफ्नै घरमा आई लुकि वसेको भन्ने सुराकीको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
 
प्रहरीले सुनुवारलाई आइतबार जिल्ला अदालत रामेछापमा पेश गरेपछि आइतबारै रामेछाप कारागार पठाएको छ । रामेछापमा पछिल्लो समय अदालतले दोषी ठहर्याएका र लामो समयदेखी फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ हुन थालेका छन् ।