खोटाङको बाक्सिलाबजारमा आगलागी पाँच करोड बराबरको क्षति


६ पुस २०७९, बुधबार  

28
Shares

पुस ५,
रामेछाप – खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारमा सोमबार आगलागीबाट झण्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट ५ घर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।आगलागीमा डिल्लीकुमार श्रेष्ठको घर, भाँडा, कपडा र नगद ५० हजारसहित एक करोड ४१ लाख ७७ हजार, छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजारसहित २० लाख ४० हजार, शुभराज राईको घर र राईको घरमा भाडामा बसिरहेका गाउँपालिका अध्यक्ष समिर राईको कपडा, पुस्तक र किराना पसल, नगद दुई लाखसहित एक करोड २५ लाख, त्यही घरमा भाडामा पसल गरिरहेका ईद्रा राईको होटल र पसल जल्दा सात लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।यस्तै, दीपक गुरुङको घर, नगद एक लाख र किराना सामानको गोदाम नष्ट हुँदा ५४ लाख ८५ हजार, गुरुङकै घर भाडामा लिएर कपडा व्यवसाय गरिरहेका रत्ना गुरुङको नगद ७५ हजार र सामान जल्दा १३ लाख ७२ हजारको क्षति भएको छ ।

रमेश परियारको घर, नगद एक लाख, टेलर पसल समेत जल्दा ७१ लाख नौ हजार क्षति भएको छ । अकबर राईको घर, फर्निचरका सामान जल्दा ६३ लाख र उहाँकै घरमा रहेको कांग्रेस समन्वय कार्यालयको कुर्सी, दराजलगायतका समान जल्दा दुई लाख बराबर रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ४ : ५८ बजे