मन्थली नगरपालिकामा ६ महिनामा २७ प्रतिशत बजेट खर्च


२५ पुस २०७९, सोमबार  

8
Shares

पुष २५
रामेछाप – रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा २७।१७ प्रतिशत बजेट खर्च गरेको छ ।

नगरपालिकाको १२ औँ नगर अधिवेशनमा नगरप्रमुख लब श्रेष्ठले पुँजीगत तर्फ १३।१५ र चालु तर्फ ३४।१४ प्रतिशत बजेट खर्च भएको जनाकारी दिनुभयो । साेेमबार भएको नगरको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले संघीय सरकारको अनुदान र राजश्व बाँडफाँडबाट ८३ करोड ४७ लाख ८ हजार, प्रदेशबाट १२ करोड ४४ लाख १५ हजार र गत आर्थिक वर्षको मौज्दात तथा आन्तरिक श्रोतको १८ करोड ७९ लाख ९० हजार गरी कुल १ अर्ब १३ करोड ५ लाख ४३ हजार रुपैँया योआर्थिक वर्षको बजेट नगरपालिकामा रहेको जानकारी दिनुभयो । नगरपालिकाले भुक्तानी प्रणालीलाई सहज बनाउन डिजिटल माध्यम ईटीएफ प्रणालीबाट भुक्तानी प्रणाली सुरु गरिएको उहाँले बताउनुभयो । यो आर्थिक वर्षमा नगरपालिकाले ४ करोड ६३ लाख रुपैँया आम्दानी हुने अनुमान गरेको छ । जस मध्ये ६ महिनाको अवधिमा १ करोड ६३ लाख ३२ हजार रुपैँया असुली गरेको छ । पूर्वाधार विकासका लाग नगरपालिकाका १४ वटा वडामा यो वर्ष ३७६ वटा योजना छुट्टाइएकोमा १७५ वटा योजना मात्र हालसम्म सम्झौता भएका छन् । ती मध्ये ३६ वटा योजनाको कार्य सम्पन्न भएको छ । ६ महिनाको अवधिमा ५० प्रतिशत बढी योजना सम्झौता नै नहुनु कार्यसम्पादनको हिसाबले सन्तोषजनक नरहेको श्रेष्ठले बताउनुभयो ।

यस आर्थिक वर्षका योजना मध्ये ३ सय १२ वटा योजना ५ लाख भन्दा पनि कम रकमका भएकाले साना योजनामा बजेट जाँदा कामको उपलब्धि नदेखिने उहाँले बताउनुभयो । यसले वडाका गौरवका योजना आकलन गर्न समेत कठिनाइ भएको श्रेष्ठले बताउनुभयो । यसै गरी सामाजिक सुरक्षा भत्ताको लगत कट्टा विवरण अद्यावधिक गर्न नसक्नु अझै पनि चुनौतीपूर्ण भएको श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  २ : २० बजे