उमाकुण्ड गाउँपालिकामा सार्वजनिक सुनुवाइ, नौ बुँदे प्रतिबद्धता


२१ माघ २०७९, शनिबार  

4
Shares

नबराज पथिक

माघ -१९
रामेछाप – रामेछापको उमकुण्ड गाउँपालिकाले गत आर्थिक वर्ष र यस वर्षको पहिला ६ महिनामा गरेको कार्यक्रमको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार गाउँपालिकामा सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्वास्थ्य बिमा कार्यक्रमलाई एक महिना भित्र प्रभावकारी रूपमा अघि बढाउने, गाउँपालिका र वडा कार्यालयमा अडियो बडापत्र राख्ने, मोबाइल एसएमएस मार्फत नागरिकलाई सूचना प्रवाह गर्ने, गाउँपालिकाका दीर्घ रोगीलाई घरमा नै औषधि पुर्‍याउने, गाउँपालिकामा बारम्बार बत्ती जाने समस्यालाई माघ महिनाभित्र समाधान गर्ने, आउने शैक्षिक सत्रबाट सबै विद्यालयमा ई–हाजिरी लागु गर्ने, यस वर्षबाट मध्यमार्गी सडकलाई बाह्रै महिना यातायात सञ्चालन हुने गरी स्तरोन्नति गर्ने र नियमित रूपमा सार्वजनिक सुनुवाइ गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । प्रतिबद्धता कार्यान्वयनको अनुगमनका लागि गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ ।
कार्यक्रमका बोल्दै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले सार्वजनिक सुनुवाइमा नागरिकबाट आएका सुझावलाई गाउँपालिकाले सम्पत्तिको रूपमा लिएको बताउनुभयो ।
उहाँले गाउँपालिकाले पूर्वाधार विकास र सेवा प्रवाहमा उल्लेख्य प्रगति गरेका भए पनि अझै नागरिकको अपेक्षा अनुसार काम गर्न धेरै सुधार गर्न आवश्यक रहेको बताउनुभयो । पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, सामाजिक विकास लगायतका क्षेत्रमा गाउँपालिकाले धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष सावित्री सनुवारले अनुगमनको कामलाई थप प्रभावकारी बनाउन आफूहरू योजना बनाएर लाग्ने बताउनुभयो । गाउँपालिका र अन्य निकायले गाउँपालिका भित्र गर्ने कामलाई गुणस्तरीय बनाउन आफू निरन्तर लाग्ने उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले नागरिकबाट आएका गुनासो सम्बोधन गर्ने गरी काम गर्ने बताउनुभयो । कर्मचारीले कुनै पनि बहानामा नागरिकको काम रोक्न नमिल्ने उहाँले बताउनुभयो । नागरिकलाई दुःख दिने काम कुनै कर्मचारीबाट भएको जानकारी आए तत्काल कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।
वडा नं १ का अध्यक्ष ङावा तिण्डु शेर्पाले जिल्लाकै सबैभन्दा दुर्गम वडा भए पनि सडक स्तरोन्नतिको लागि उल्लेख्य काम गर्न सकेको बताउनुभयो । उहाँले मध्यमार्गी सडकलाई नियमित चल्ने बनाउन र पहिरो नियन्त्रणको लागि काम गर्न आवश्यक रहेको बताउनुभयो ।
वडा नं २ का वडाध्यक्ष खम्बध्वज बस्नेतले वडाबाट प्रवाह गर्ने सेवा रात दिन नभनी प्रवाह गरिरहेको बताउनुभयो । खानेपानीको योजनालाई थप प्रभाकारी रूपमा अघि बढाउन वडा कार्यालय लागेको उहाँले बताउनुभयो ।
वडा न ३ का वडाध्यक्ष गुनकुमार थापाले नागरिक सहभागिता समेत जुटाएर पूर्वाधार निर्माणका काम भएको बताउनुभयो । अधुरो रहेको स्वाम्य चौकीको भवन निर्माण, बैँक मार्फत वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण लगायतका काम गर्न सके नागरिकलाई थप सहज हुने उहाँले बताउनुभयो ।
वडा नं ४ का वडाध्यक्ष मानबहादुर सुनुवारले नागरिकका समस्या समाधानको लागि निरन्तर लागि रहेको बताउनुभयो । नागरिकबाट गुनासो नआउने गरी काम गर्न आफूहरू निरन्तर लागेको उहाँको भनाइ छ ।
यसै गरी वडा नं ५ का अध्यक्ष कुलबहादुर बस्नेतले सेवा प्रवाहलाई थप व्यवस्थित बनाइएको, कृषि र पशु प्राविधिकको सेवा वडाबाटै प्रदान गरिएको, खानेपानी लगायतका कतिपय नमुना पूर्वाधारका काम गरिएको जानकारी दिनुभयो । वडामा शाखा सडकको स्तरोन्नति गर्नुपर्ने, साप्सुखोलाको पहिरो नियन्त्रण र वर्षामा खोला तर्ने संरचना बनाउनु पर्ने तत्कालीन आवश्यकता रहेको उहाँले बताउनुभयो ।
वडा नं ६ का वडाध्यक्ष भरतराज खड्काले भूकम्प पछि खानेपानीको धेरै मुहान सुकेकाले खाने पानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । यसको साथै कृषकलाई उत्पादनमुखी बनाउने अबको योजना रहेको उहाँले सुनाउनुभयो ।
वडा नं ७ का वडाध्यक्ष रुद्रमणि नेवारले प्रत्येक घरमा बत्ती र पानी पुर्‍याउने गरी वडा कार्यालय लागेको बताउनुभयो । वडा कार्यालयबाट प्रवाह गर्ने सेवामा कुनै समस्या नरहेको उहाँले बताउनुभयो । वडा कार्यालयले एक घर एक आयामको कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको उहाँले बताउनुभयो । हरेक घरले आयआर्जनको लागि कुनै न कुनै काम नगरे समृद्धि प्राप्त गर्न नसकिने उहाँको भनाई छ ।
कार्यक्रममा सहभागीले प्रभावकारी सूचना प्रवाह हुनुपर्ने, पालिकामा बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडकको स्तरोन्नति गरिनु पर्ने, कृषिको अनुदान दिँदा स्थलगत अवलोकन गरेर मात्र दिनु पर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभाकारी बनाउनु पर्ने, किसानको उत्पादनलाई बजारीकरणको प्रबन्ध मिलाइदिनुपर्ने, विद्यालयमा शिक्षकले नै इन्टरनेट सेवाको दुरुपयोग गरेकाले त्यसको अनुगमन गरी नियन्त्रण गर्नुपर्ने, माटो परीक्षण शिविर राखिनु पर्ने, कर्मचारीले नियमित कार्यालयमा उपस्थित भएर सेवा प्रवाह गर्नुपर्ने, प्राविधकहरु योजना सञ्चालन भएका ठाउँमा सहज उपलब्ध हुनु पर्ने, गाउँपालिकाका सबै काम पारदर्शी हुनुपर्ने माग राख्नु भएको थियो । सहभागीले उठाउनु भएको प्रश्नको जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत र विषयगत शाखाका कर्मचारीले जवाफ दिनुभएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  २ : ३७ बजे