सन्तोष ढुंगेल
फागुन ५,
रामेछाप – जर्मन नागरिक डाक्टर जोन एडर्सनले जर्मनीको आफ्नो घर बेचेर रामेछापमा दाँतको उपचार गर्ने अस्पताल बनाएका छन्।रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा एडर्सनले सुविधा सम्पन्न डेन्टल अस्पताल निर्माण गरेका हुन्। जर्मन रोटरी भोलन्टियर डाक्टरर्स् भन्ने संस्थामा आवद्ध डाक्टर जोन १० वर्ष अघि नेपाल आएर सामाजिक सेवामा सक्रिय छन्।
डाक्टर जोन भन्छन्, मलाई नेपाल माया लाग्छ नेपालीहरूको सेवा गर्न पाउउँदा आनन्द हुन्छ। ८४ वर्षीय डाक्टर एडर्सन दन्त विशेषज्ञ डाक्टर हुन्। आफ्नो योजना भनेको मानिसको दाँत कसरी स्वस्थ्य बनाउने भन्नेमा केन्द्रित हुने उनको भनाइ छ। विशेषगरि स्कुल र विद्यार्थीलाई केन्द्रित गरेर उनले हिमगंगा उच्च मावीको परिसरमा साँघुटार रोटरी डेन्टल क्लिनिक नामक दन्त अस्पताल निर्माण गरेका छन्।
बालबालिका अवस्था देखिनै दाँतको राम्रो हेरबिचार गर्न सके कसैलाई पनि दाँतको समस्या नहुने जोनको तर्क छ। उनले भने, मलाई सम्पत्ति कमाउनु छैन मैले कमाएको र मेरो सम्पत्ति सामाजिक सेवामा लगाउँछु त्यसको पहिले प्राथमिकतामा नेपाल छ।ु
जिल्ला सदरमुकाम मन्थलीबाट करिब ३४ किलोमीटरको दूरीमा रहेको ओखलढुंगासँग सीमा जोडिएको साँघुटार बजारमा जोनले विशेषज्ञ डाक्टरसहितको सुविधा सम्पन्न दन्त अस्पताल बनाएपछि शिक्षक, विद्यार्थी र अभिभावक खुसी भएका छन्। गाउँमा नै शहरको सुबिधा पाएको भन्दै डाक्टर जोनलाई विद्यालय र स्थानीयले भब्य स्वागत गरेका छन् भने पुष्प गुच्छा र अबिर यात्रा गर्दै बजार परिक्रमा समेत गराएका छन्।
८४ वर्षीय डाक्टर जोनको संमानमा आयोजित कार्यक्रममा डाक्टर जोनले भने, मेरो स्वस्थ्य अवस्था दिन दिनै कमजोर हुँदै गएको छ। अब म जर्मन गएपछि हाम्रो भेट नहुन पनि सक्छ। यो भेट नै अन्तिम भेट हुन पनि सक्छ। मैले अहिलेसम्म यति ठूलो सम्मान पाएको थिइन्। अब स्थानीयबासी र सरकारसँग आग्रह गर्छु अस्पताल बन्द हुने वातावरण नबनोस्।
डाक्टर जोनले रामेछापलगायत सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, सिन्धुलीका गाउँगाउँमा दातका शिविर संचालन गर्दै आएका छन्।
प्रतिक्रिया