फोनिज रामेछापको ११ औँ साधारण सभा, पत्रकारलाई उज्यालोको ऐना बन्न आग्रह


१८ फाल्गुन २०७९, बिहिबार  

22
Shares

नबराज पथिक

फागुन – १८
रामेछाप- आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको ११ औ साधारण सभा तथा जिल्ला भेला बिहीबार मन्थलीमा सम्पन्न भएको छ ।
फोनिजका जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङको प्रमुख आतिथ्ययतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै तामाङले पत्रकारलाई राजनीतिक दल भन्दा माथि उठेर काम गर्न आग्रह गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रको विकास र अन्य विकासको लागि सबै दलका सांसदहरू एक ठाउँमा उभिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रामेछाप जिल्लाको विकासका लाग सबै दलका नेता एक भएर लाग्ने उहाँले बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष एवं वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले पत्रकारिता लगायत सामाजिक रूपान्तरणको बाटो निक्कै अप्ठेरो भएको बताउनुभयो । समाजलाई उज्यालो तर्फ र्डोयाउने बाटोमा आफू जलेर अरूलाई उज्यालो दिने आँटका साथ लाग्न सक्नु पर्ने उहाँको भनाइ छ ।
मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले समाज विकासको काममा सबैको साझेदारी आवश्यक रहेको बताउनुभयो । स्थानीय सरकार स्थानीय स्तरका संस्थाको विकासमा सधैँ क्रियाशील रहने श्रेष्ठले बताउनुभयो ।
नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले पत्रकार समाजको ऐना मात्र नभएर उज्यालोमा राखेको ऐना बन्नु पर्ने बताउनुभयो । समाजलाई अग्रगमन तर्फ लैजान समान अस्तित्वलाई स्विकार्न सक्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा एमाले रामेछापका उपसचिव प्रकाशकुमार कार्कीले नेपालको सबै क्षेत्र समयानुकूल परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । वस्तुनिष्ठ समीक्षा गरेर कमजोरी सच्याउँदै अघि बढ्नु आजको आवश्यकता रहेको उहाँले प्रष्ट पार्नुभयो । पत्रकारिता क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको लागि काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ रामेछापकाअध्यक्ष तथा पूर्वअध्यक्षहरु, पेसागत संगठनका प्रमुखहरू, फोनिजका वाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ,जिल्लाका पूर्व अध्यक्षहरू लगायतले साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ८ : ४४ बजे