समाज परिवर्तनका लागि विगतको मानक परिवर्तन गर्न जरुरी : आनन्द श्रेष्ठ


१८ फाल्गुन २०७९, बिहिबार  

12
Shares

फागुन १८

नबराज पथिक
रामेछाप – नेकपा एमाले रामेछापका अध्यक्ष तथा वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले समाज परिवर्तनको लागि राज्य सत्तामा रहनेको सोच र कार्यशैलीमा परिवर्तन आउनु पर्ने बताउनुभएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको ११ औँ साधारण सभा तथा जिल्ला भेलालाई बिहीबार मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले विगतमा राज्य सत्ताले गरेको व्यवहारकै कारण विभिन्न समुदाय र महिला पछि पारिएको बताउनुभयो । ‘हिजोको राज्य सत्ताकै कारण महिला, दलित, जनजाति राज्य सञ्चालनको प्रक्रियामा पुग्न सकेनन्, आज हामी त्यसलाई तोडेर अघि बढेका छौँ’, श्रेष्ठले भन्नुभयो ।

राज्य र त्यसको संरचनालाई एकै पटक परिवर्तन गर्न नसकिने पनि श्रेष्ठले बताउनुभयो । राज्य सत्ता र त्यसको संरचना परिवर्तन समाज परिवर्तनसँग जोडिने विषय भएको उहाँले प्रष्ट पार्नुभयो । नेपाली समाज पुरानो संरचनालाई तोडेर बिस्तारै अघि बढेको उहाँले बताउनुभयो ।
अहिले पनि पितृ सत्ता र उपल्लो जातीय सोच समाजका हरेक क्षेत्र र वर्गमा यथावत् नै रहेको उहाँले बताउनुभयो । यसर्थ भाषा, शैली, व्यवहार हरेक क्षेत्रमा परिवर्तन आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘समाज परिवर्तनको निम्ति विगतको मानकलाई नै परिवर्तन गर्न जरुरी छ, यो काम सजिलो छैन, यसको परिवर्तनको लागि समाजका सचेत वर्गले अग्रणी भूमिका निर्वाह गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।

समस्यालाई बेहोर्न सक्ने र समस्यासँग जुध्न सक्ने मानिस मात्र समाज रूपान्तरणको काममा लाग्ने सक्ने पनि उहाँले बताउनुभयो । ‘यो कष्टकर साध्य हो, यसको मुख्य उद्देश्य उज्यालो तर्फ जाने राख्नु पर्दछ, कष्ट र अवरोध त आइरहन्छन्’, श्रेष्ठले भन्नुभयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ९ : ३४ बजे