पुष्पलालको जन्मथलो रामेछापमा एमालेको मिसन ग्रासरुट अभियान


१९ फाल्गुन २०७९, शुक्रबार  

14
Shares

नबराज पथिक

फागुन – १९
रामेछाप – नेकपा एमाले रामेछापले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप नगरपालिकामा मिसन ग्रसारुट अन्तर्गतको पार्टी सुदृढीकरण तथा विस्तार अभियान शुक्रबारबाट सुरु गरेको छ ।
पार्टी नगर कमिटी अध्यक्ष रोशन पाख्रिनको अध्यक्षता तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टको प्रमुख आतिथ्यतमा अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रम आयोजना गरी अभियानको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा बोल्दै एमाले सचिव विष्टले नेपाल राजनीतिक र आर्थिक हिसाबले निक्कै जटिल मोडमा रहेको बताउनुभयो । अहिले नेपाल सधैँ अरूको निर्भरतामा रहोस् भन्ने चाहना राख्नेहरू बलशाली भएका उहाँले बताउनुभयो । त्यसैले नेपालमा राजनीतिक अस्थिरता रहेको उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य निरु दर्लामी, नेकपा एमाले केन्द्रीय सम्पर्क सल्लाहकार सदस्य प्रा।डा।ऋषिराम शर्मा, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य राजकुमार श्रेष्ठ, वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेल, पार्टी जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ लगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै पार्टी नगर कमिटी अध्यक्ष रोशन पाख्रिनले नगरपालिकाको सबै वडामा वडा कमिटी बैठक राखी बस्ती स्तरसम्म पुग्ने बताउनुभयो । सो क्रममा कार्यकर्ता र नागरिकको गुनासो बुझ्ने तथा पार्टी सदस्यता नवीकरण लगायतका काम गरी पार्टीलाई चुस्त दुरुस्त बनाउने उहाँले बताउनुभयो ।
रामेछाप नगरपालिका–८ को भँगेरीमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म भएको थियो । सरकारी सेवाको सिलसिलामा उहाँका पिता रामेछापमा बडाहाकिम भएर बसेको बेला पुष्पलाल श्रेष्ठ र सहिद गंगालाल श्रेष्ठको जन्म रामेछापको भँगेरीमा नै भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ६ : ३२ बजे