रामेछाप उद्योग वाणिज्य संघ निर्वाचन : एमालेले सार्वजनिक गर्‍यो आफ्ना समर्थक उम्मेदवार


२१ फाल्गुन २०७९, आइतबार  

6
Shares

नबराज पथिक
फागुन – २०
रामेछाप – फागुन २७ गते हुने रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनको लागि नेकपा एमाले रामेछापले आफ्नो पार्टीमा आस्था राख्ने उम्मेदवारलाई सार्वजनिक गरेको छ ।
शनिबार जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रम आयोजना गरी नेकपा एमालेले एमाले समर्थक नवराज ढुङ्गेल नेतृत्वको टिम सार्वजनिक गरेको हो । कार्यक्रममा सुझबुझ राख्ने युवाको परिपक्व टिम भएकोले रामेछापको उद्योग वाणिज्य क्षेत्रमा आसलाग्दो अवस्था सिर्जन भएको एमाले वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले बताउनुभयो । एमालेले तयार गरेको टिम जुझारु, सशक्त र अनुभवी युवा र समावेशी चरित्रको भएको उहाँले बताउनुभयो ।
नेकपा एमाले रामेछापका अध्यक्ष एवं वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले आर्थिक क्षेत्रमा देखिएको समस्यासँग लड्न र व्यवस्थापन गर्न सक्ने टिम एमाले समर्थक व्यवसायीहरूले तयार गरेको बताउनुभयो । ढुङ्गेल नेतृत्वको टिमलाई विजयी गराउन सिङ्गो शक्ति परिचालित हुन श्रेष्ठले आग्रह गर्नुभयो ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य तथा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले नयाँ आउने टिमसँग मन्थली नगरपालिका सबै कुरामा सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले अहिलेको युवाको टिम विजयी भएर आए केही गर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं रामेछाप उद्योग वाणिज्य संघका पूर्व महासचिव जगन्नाथ दाहालले ढुङ्गेल नेतृत्वको टिम अत्यन्त खारिएको युवाको टिम भएको बताउनुभयो । अध्यक्षका उम्मेदवार नवराज ढुङ्गेल रामेछाप उद्योग वाणिज्य संघको सदस्य, सचिव र महासचिव हुँदै अध्यक्षमा चुनाव लड्नुभएकोले कमजोर नआँक्न आग्रह गर्नुभयो । राष्ट्रिय उद्योग व्यवसायी महासंघका वाग्मती प्रदेश अध्यक्ष पशुपतिबहादुर खड्काले विचार र व्यवहारबाट खारिएका युवाको टिमले रामेछाप उद्योग वाणिज्य संघलाई सही गन्तव्य दिने बताउनुभयो ।
रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्याम थापाले व्यवसायीहरूको संस्थालाई राजनीतिमा जोड्न हुँदैन भन्दा भन्दै पनि अर्को पक्ष राजनीतिमा जोडिन पुगेको कारण आफूहरू पनि राजनीतिक रूपमा खुल्न बाध्य भएको बताउनुभयो । नवराज ढुङ्गेल नेतृत्वको टिमले मात्र अहिलेको जिल्लाको आर्थिक र व्यावसायिक क्षेत्रको समस्या समाधानमा योगदान गर्न सक्ने उहाँले बताउनुभयो ।
अध्यक्ष पदका उम्मेदवार नवराज ढुङ्गेलले आफूले सबैलाई मिलाएर लैजाने क्षमता राख्ने बताउनुभयो । सबै व्यवसायीलाई आफ्नो टिमलाई विजयी गराउन उहाँले आह्वान गर्नुभयो ।


एमाले समर्थक टिमबाट अध्यक्षमा नवराज ढुङ्गेलको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा सुमिका श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा रामहरि उप्रेती, उद्योग उपाध्यक्षमा चन्द्र मानन्धर, महासचिवमा सुरेश उदास, सचिवमा राजु थापा, कोषाध्यक्षमा सरोज तामाङले उम्मेदवारी दिनुभएको छ । यस्तै आजीवन सदस्यबाट किशोर पौडेल, महिला सदस्यमा लक्ष्मी श्रेष्ठ, खुला सदस्यमा सन्तोष कठवनीया, रवीन्द्र श्रेष्ठ, कृष्ण गहतराज, रुद्रकुमार श्रेष्ठ र देवचन्द्र कठायतले उम्मेदवारी दिनुभएको छ ।
निर्वाचनमा नेपाली कांग्रेस र माअ‍ोवादीले गठबन्धन गरेका छन् । गठबन्धनबाट अध्यक्षमा कांग्रेसका नवीन थापा मगरको उम्मेदवारी परेको छ । एमालेबाट टिकट नपाएपछि तीन दिन अघि मा त्र नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका थापालाई कांग्रेसले उम्मेदवार बनाएको छ ।
एमालेबाट महासचिव नपाएपछि सो टिममा मिल्न पुग्नुभएका कुमार श्रेष्ठ कांग्रेस–माओवादी गठबन्धनको महासचिवको उम्मेदवार बन्नुभएको छ । उहाँ राजनीतिक रूपमा समेत खुल्नु भएको छैन ।
पदकै लागि एमाले छाडेर आएकालाई महत्त्वपूर्ण जिम्मेवारी दिन लागेको भन्दै कांग्रेस समर्थक व्यवसायीहरू असन्तुष्ट बनेका छन् । सो कार्यप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस समर्थक वर्तमान जिल्ला अध्यक्ष केशव घिमिरेले पनि अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ ।
यसै बिच पार्टी छाडेका नवीन थापाको नाम नेकपा एमालेको सदस्यता सूचीबाट हटाउने एमाले रामेछापले निर्णय गरेको छ । उहाँलाई पाँच वर्षसम्म पार्टीको सदस्यता लिन आए पनि नदिने पार्टी अध्यक्ष आनन्द श्रेष्ठले बताउनुभयो ।
त्यस्तै पार्टीको निर्णय विपरीत अर्को पक्षसँग मिलेर महासचिव पदमा उम्मेदवारी दिएको भन्दै कांग्रेस–माओवादी गठबन्धनको महासचिवका उम्मेदवार कुमार श्रेष्ठलाई पार्टीले निलम्बन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ‘उहाँलाई हामीले कारबाही गरिसकेका छौँ’ । उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  २ : ३७ बजे