एमालेको ग्रासरुट अभियान : लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रामेछापको दोस्रो जिल्ला सम्मेलन


२७ फाल्गुन २०७९, शनिबार  

10
Shares

नवराज पथिक

फागुन २६
रामेछाप – नेकपा एमालेको मिसन ग्रासरुट पार्टी सुदृढीकरण अन्तर्गत शुक्रबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रामेछापको दोस्रो जिल्ला सम्मेलन मन्थलीमा सम्पन्न भएको छ ।
सम्मेलनको नेकपा एमाले केन्द्रीय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सहइञ्चार्ज निरु दर्लामीले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सम्मेलन उद्घाटन गर्दै दर्लामीले अधिकार प्राप्तिको लागि आदिवासी जनजाति संगठित भएर अघि बढ्नुपर्ने बताउनुभयो । नत्र अधिकारको कुरा नारामा मात्र सीमित रहने उहाँको भनाइ छ ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव पेम्बा गुरुङ भोटेले नेपालको संविधान २०७२ बाट नेपाली नागरिकले धेरै कुरा प्राप्त गरेका बताउनुभयो । यो काम नेकपा एमालेको अगुवाइमा भएको उहाँले प्रष्ट पार्नुभयो । नेकपा एमालेलाई सत्ताबाट विमुख गराउने प्रयत्न गर्दा पनि एमाले प्रतिको जनविश्वास नगुमेको उहाँले बताउनुभयो ।
महासंघका उपमहासचिव देवराज राई, कोषाध्यक्ष प्रेम श्रेष्ठ, एमाले वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेल, प्रेम तामाङ, लव श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ, महासंघका नेताहरू सूर्य माझी, सोम लामा लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा एमाले वाग्मती प्रदेश कमिटी सदस्यहरू, जिल्ला उपाध्यक्ष इन्द्र तामाङ, सचिव पुरुषोत्तम कँडरिया, उपसचिवहरू प्रकाशकुमार कार्की, होतराज ढकाल, पार्टीका पालिका कमिटी अध्यक्षहरू तथा महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सम्मेलनले भीमबहादुर श्रेष्ठको अध्यक्षतामा ३५ सदस्सीय नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । महासंघको उपाध्यक्षमा भूपालराज श्रेष्ठ र सचिवमा प्रदीप तामाङ चुनिनु भएको छ । त्यस्तै उपसचिवमा क्रमशः ठगेन्द्र थापा मगर, मखौरै माझी र देवेन्द्र दोङ चुनिनु भएको छ । राजकुमार घिसिङको अध्यक्षतामा १३ सदस्सीय लोकतान्त्रिक तामाङ संघ पनि गठन भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ४ : २५ बजे