रामेछापको भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु – ११ जना घाइते


२३ चैत्र २०७९, बिहिबार  

16
Shares

चैत्र २३,

रामेछाप  – रामेछापको मन्थली नगरपालिका–७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।  बिहिबार सदरमुकाम मन्थलीबाट भटौलीको कौछिनी जादै गरेको बोलेरो गाडी सडक  करिब १५० मिटर तल खस्दा  चालकसहित ५ जनाको मृत्यु भएको हो । चार  जनाको घटनास्थलमै र थप एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृत्यु हुनेहरुमा मन्थली नगरपालिका–७ भटौली कौछिनीकी ८२ वर्षिया नन्दमाया भण्डारी, ५५ वर्षीया ज्ञान दानी तामाङ, ६८ वर्षीय जनसुन तामाङ र सुनापति गाउँपालिका वडा नं १ गुन्सीकी ८ वर्षया लाक्पा घिसिङ र चालक मन्थली नगरपालिका-७ कौछेनी बस्ने वर्ष ५० को दल बहादुर आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले बताए । सदरमुकाम मन्थलीबाट १५ जना यात्रु बोकेर मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार उकालो मोडमा ब्रेक फेल भएको कारण दुर्घटना भएको देखिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ९ : ०६ बजे