योआर्थिक वर्षको ८ महिनामा ८ अर्ब ६० करोड रुपैयाको फलफूल आयात


२५ चैत्र २०७९, शनिबार  

22
Shares

चैत्र २५

रामेछाप – यो आर्थिक वर्षको ८ महिनाको अवधिमा फलफूल आयातमा अर्बौ रुपैयाँ विदेशिएको छ । देशका ६० प्रतिशत जनसङ्ख्या कृषि खेतीमा आबद्ध भएपनि बर्सेनि खर्बौ रुपैयाँ खाद्यान्न लगायत कृषिजन्य वस्तुको आयातमा बाहिरिँदै गएको छ । जनगणना २०७८ ले देशका ६० प्रतिशत जनसङ्ख्या कुनै न कुनै प्रकारको खेतीमा संलग्न रहेको देखाउँछ । र, यसबाट कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशतको योगदान रहेको तथ्याङ्क राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको थियो । तर, चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्मको अवधिमा ८ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै फलफूल आयातमै बिदेशीएको छ । यो अवधिमा स्याउ, केरा, सुन्तला, कागती, किवी, अनार, एभोकाडो, भुइँकटर, अङ्गुर र मेवा लगायतका फलफूल आयातमा रकम बाहिरिएको भन्सार विभागले जनाएको छ । ८ महिनामा नेपालबाट ४ अर्ब ४५ करोड रुपैयाँ स्याउ आयातमै बाहिरिएको छ । जबकि, नेपालका उच्च हिमाली जिल्लामा उत्पादित स्याउले बजार नै नपाउने गरेका छन् । सडक मार्गको पहुँच कम हुनु तथा हवाई माध्यमबाट स्याउ मुख्य बजारसम्म आउँदा महँगो हुनु यसको मुख्य कारण हो ।

यस्तै, केरा आयातमा ४७ करोड ५४ लाख, भुइँकटर आयातमा ९ करोड २० लाख र एभोकाडो आयातमा २ करोड ९६ लाख रुपैया विदेशीएको छ । यसबाहेक, अम्बा आयातमा २५ करोड २९ लाख, सुन्तला आयातमा ७२ करोड ९३ लाख, कागती आयातमा ४० करोड ६० लाख रुपैयाँ बाहिरिएको तथ्याङ्क छ । तथ्याङ्कअनुसार मिक्स फलफूल आयातमा ३ करोड ५५ लाख रुपैयाँ बाहिरिँदा अङ्गुर आयातमा ९२ करोड ८९ लाख रुपैयाँ, खरबुजा र तरबुजा आयातमा २० करोड २५ लाख, मेवा आयातमा १६ करोड ६७ लाख बाहिरिएको छ ।

यस्तै, नासपाती आयातमा ११ करोड ११ लाख बाहिरिँदा २३ लाखको चेरी आयात भएको छ भने १७ लाखको स्ट्रबेरी, ६ करोड २ लाखको किवी, १२ लाखको ऐसेलु र १ करोड ६६ लाख रुपैयाँको सुकेको आरु आयात भएको छ ।

तर, यस अवधिमा नेपालबाट भने नगण्य मात्रामा फलफूल निर्यात भएको तथ्याङ्कमा छ । नेपालबाट ५१ लाखको केरा, २ करोड ११ लाखको मिक्स फलफूल, २८ लाखको किवी, ९ लाखको आरुबखडा र २७ लाख रुपैयाँको सुकेको स्याउ निर्यात भएको छ । यो सबै रकम जोड्दा मुस्किलले १ करोड रुपैयाँ हुन आउँछ । खाद्य तथा फलफुल सामाग्री खरिदमै नेपालबाट वर्षेनी अरौँ रुपैया विदेशिने गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ९ : २० बजे