१ वर्षमा १६ अर्ब रुपैयाँ बढीको फलफूल विदेशबाट नेपाल आयो


११ श्रावण २०८०, बिहिबार  

10
Shares

रामेछाप- गएकाे आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात भएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बाैँ रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएकाे आवमा १६ अर्ब आठ करोड रुपैयाँभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ ।

७ अर्बको नाै करोड स्याउ आयात 

विभागका अनुसार गएकाे आवमा सात अर्ब नौ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको आठ करोड ३२ लाख ७४ हजार तीन सय ३१ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले ८६ करोड ८३ लाख ८९ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

सार्वजनिक विवरणअनुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ । चीनबाट मात्र पाँच अर्ब १५ करोड ५८ लाख ४५ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट एक अर्ब ९३ करोड आठ लाख ७८ हजार, अमेरिकाबाट ५० लाख ३४ हजार, स्विट्जरल्यान्डबाट २७ लाख २० हजार रुपैयाँ बराबरको स्याउ आयात भएको विवरण छ ।

२ अर्बको अङ्गुर आयात

गएकाे आवमा दुई अर्ब १५ करोड ८८ लाख ७६ हजार रुपैयाँ बराबरकाे तीन करोड नौ लाख आठ हजार एक सय ७२ केजी ताजा अङ्गुर आयात भएको छ । त्यसबाट सरकारले ११ करोड एक लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ताजा अङ्गुर सबैभन्दा धेरै भारतबाट दुई अर्ब १३ करोड ७६ लाख ६५ हजार र चीनबाट दुई करोड १२ लाख तीन हजार रुपैयाँ बराबरको आयात भएको छ ।

केरा आयातबाट १ अर्ब ६२ करोड बाहिरियो

विभागका अनुसार गएकाे आवमा एक अर्ब ६२ करोड ७३ लाख ९९ हजार रुपैयाँ बराबरको केरा आयात भएको छ । पाँच करोड ३३ लाख ९४ हजार सात सय ९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले २९ करोड ४३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।

विभागका अनुसार गएकाे आवमा ८९ लाख चार हजार एक सय २७ केजी अनार आयातमा ९३ करोड ४९ लाख ३५ हजार रुपैयाँ  बाहिरिएको छ । जसबाट सरकारले नौ करोड ४९ लाख ९० हजार रुपैयाँ राजस्व उठाएको छ ।

सार्वजनिक विवरणअनुसार गएकाे आवमा ८८ करोड १८ लाख ८४ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ८७ हजार आठ सय ८१ केजी सुन्तला आयात भएको छ । त्यस्तै एक करोड ५५ लाख ५१ हजार तीन सय ६८ केजी अम्बा तथा आँप आयातमा ७० करोड दुई लाख ७२ हजार रुपैयाँ बाहिरिएको छ । साथै दुई करोड ७० लाख ७७ हजार दुई सय ८६ केजी खरबुजा आयातका लागि ६८ करोड ९५ लाख ४० हजार रुपैयाँ बराबर रकम बाहिरिएको छ ।

नेपालको हावापानी सुहाउँदो फलका रूपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार गएकाे आवमा ८८ लाख ३५ हजार तीन सय आठ केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य ३० करोड ९० लाख ८१ हजार रुपैयाँ बराबर छ ।

यस अवधिमा १३ करोड ६२ लाख ५८ हजार रुपैयाँ बराबरको ३० लाख ५० हजार आठ सय ९० केजी भुइँकटहर आयात भएको छ भने १५ लाख ६२ हजार सात सय ३८ किलो नास्पाती आयातमा १२ करोड ३६ लाख २६ हजार रुपैयाँ खर्च बाहिरिएको छ ।

त्यस्तै नौ करोड ४५ लाख ७८ हजार बराबरको दुई लाख ५८ हजार छ सय २८ किलो एभोकाडो आयात भएको छ भने सात करोड ५२ लाख २१ हजार रुपैयाँ बराबरको चार लाख १० हजार तीन सय २२ किलो किबी आयात भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ४ : ३० बजे